नियम १३६
अध्ययन वृत्ति
: (१) प्राविधिक समूहको जनशक्ति विकासको लागि नेपाल सरकारले अत्यावश्यक ठानी देहायका मुलुकमा अध्ययन गर्न पठाएकोमा पहिलो पन्ध्र दिनसम्मको लागि प्रचलित नियम बमोजिमको दैनिक भ्रमण भत्ता र त्यसपछि देहाय बमोजिमको मासिक अध्ययन वृत्ति दिईनेछ :–
(क)   भारत :
(१)    राजपत्राङ्कित कर्मचारीलाई एकसय सात अमेरिकी डलर,
(२)    राजपत्र अनङ्कित कर्मचारीलाई असी अमेरिकी डलर ।
(ख)   पाकिस्तान, बङ्गलादेश, श्रीलंका र थाईलैण्ड :
(१)    राजपत्राङ्कित कर्मचारीलाई एकसय चौवालीस अमेरिकी डलर,
(२)    राजपत्र अनङ्कित कर्मचारीलाई एकसय आठ अमेरिकी डलर ।
(ग)   खण्ड (क) र (ख) बाहेकका अन्य देश :
(१)    राजपत्राङ्कित कर्मचारीलाई एक सय पचपन्न अमेरिकी डलर,
(२)    राजपत्र अनङ्कित कर्मचारीलाई एक सय पन्ध्र अमेरिकी डलर ।
      (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा नै अध्ययन गर्ने प्राविधिक समूहका सशस्त्र प्रहरीको हकमा नेपाल सरकारले समय समयमा निर्धारण गरिदिए बमोजिमको अध्ययन वृत्ति दिईनेछ ।
(३) उपनियम (१) र (२) बमोजिम अध्ययनमा पठाउनु अघि अध्ययन गर्दा लाग्ने आवश्यक खर्चको प्रबन्ध अन्यत्र कहीबाट हुन सक्ने वा नसक्ने र हुन सक्ने भए के कति प्राप्त हुन सक्ने भन्ने जानकारी लिएर मात्र पठाउनु पर्नेछ ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा देहाय बमोजिमको अध्ययन वृत्ति दिईनेछ :–
(क)   खाना वा बास खर्च मध्ये कुनै एकको प्रबन्ध भएकोमा उपनियम (१) मा उल्लिखित दरको आधा ।
(ख)   खाना वा बास खर्चसम्मको प्रबन्ध भएकोमा उपनियम (१) मा उल्लिखित दरको एक चौथाई ।
(ग)   अध्ययनको लागि सम्बन्धित शिक्षण संस्थाले सिफारिस गरे बमोजिमको पाठ्यपुस्तक तथा अन्य खर्चको लागि ट्यूशन शुल्क लगायतका अन्य शुल्क मध्ये नेपाल सरकारले निर्धारण गरे बमोजिमको दरमा पूर्ण वा आंशिक खर्च ।
      (५) खाने बस्ने लगायतको सम्पूर्ण अध्ययन खर्चको प्रबन्ध भएकोमा र स्वीकृत अध्ययन बिदाको अवधि समाप्त भएपछि कुनै किसिमको अध्ययन वृत्ति दिईने छैन ।